२५ असार, काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आएको बाढीका कारण कैलाश मानसरोवर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्रीहरू टिमुरेमा अलपत्र परेका छन्। स्याफ्रुवेशी र टिमुरेबीचको सडक अवरुद्ध हुँदा उनीहरू धुन्चे फर्कन सकेका छैनन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार टिमुरेमा हाल ५० जना नेपाली तीर्थयात्री र ४ जना विदेशी नागरिक अलपत्र परेका छन्। उनीहरूको उद्धारका लागि हेलिकप्टर परिचालनको प्रयास भइरहेको छ।
नेपाल–चीन सीमा नजिकको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण हालसम्म १९ जना सम्पर्कविहीन रहेका छन्। घटनास्थलको स्थलगत निरीक्षणका लागि बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुण पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर–चितवनका एसपी नरेश सुवेदी रसुवा पुगेका छन्।
बाढी र पहिरोका कारण स्याफ्रुवेशीभन्दा माथिल्लो क्षेत्र केरुङतर्फ जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

















