२५ असार,काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आज सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आज बस्ने संसदीय दलको बैठकले यसबारे निर्णय गर्नेछ।
बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने अधिकार संसदीय दललाई दिएको जानकारी दिए। संसदीय दलको बैठक समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बस्न लागेको उनले बताए। यसअघि जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।
बस्नेतका अनुसार कांग्रेस–एमाले गठबन्धन सरकारले कुनै पनि क्षेत्रमा सन्तोषजनक नतिजा दिन नसकेको पार्टीको निष्कर्ष छ। उनले थपे, “संविधान संशोधन, सुशासनको प्रत्याभूति, अर्थतन्त्रमा सुधार, भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको नियन्त्रण गर्ने गठबन्धन सरकारले गरेको प्रतिबद्धता पूरा नभएपछि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखिराख्ने स्थिति रहेन।“
सरकारलाई दिएको समर्थन यसअघि नै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिइसकेको छ।

















