२५ असार,वीरगञ्ज । महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख (इन्चार्ज) सहित तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। व्यापारीहरूलाई धम्की दिएर जबरजस्ती रकम असुली गरेको आरोपमा उनीहरूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी गणमा राखेर थप अनुसन्धान सुरु गरेको हो।
जिम्मेवारीबाट हटाइएका प्रहरीहरूमा प्रहरी निरीक्षक उत्तम सिंह भण्डारी, प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार उनीहरूमाथि व्यापारीहरूबाट मासिक रूपमा रकम उठाएको, मुद्दा मिलापत्र गराइदिने भन्दै आर्थिक लेनदेन गरेको, र बिचौलिया परिचालन गरी प्रहरी कार्यालय परिसरमै रकम संकलन गर्नेजस्ता गम्भीर आरोप लागेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी निरीक्षक भण्डारीले जवान महतो र विश्वकर्मालाई ’घुमुवा’ (सादा पोसाकका प्रहरी) को रूपमा प्रयोग गरी अनैतिक कार्यमा संलग्न गराएको खुलेको छ। दुवै जवान लामो समयदेखि गौशालामा कार्यरत थिए। अझ गम्भीर कुरा, सादा पोसाकमा कार्यरत घुमुवा प्रहरीले उनीहरूलाई संरक्षण गर्दै आएको प्रमाणहरू समेत फेला परेका छन्।
महोत्तरीमा पाँच वर्षभन्दा बढी समयदेखि सादा पोसाकमा कार्यरत केही प्रहरीहरूलाई सरुवा आदेश दिइए पनि उनीहरू अन्यत्र जान आनाकानी गर्दै आएको पाइएको छ। लामो समय एउटै स्थानमा बस्नेले स्थानीय प्रभाव बढाएर पदको दुरुपयोग गर्ने प्रवृत्तिले समग्र प्रहरी प्रणालीप्रति नै गम्भीर प्रश्न उठेको छ।

















