प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२५ असार,वीरगञ्ज । नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्कासन गरेको छ। २०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भन्दै परेको उजुरीका आधारमा कांग्रेसको केन्द्रीय अनुशासन समितिले यो निर्णय गरेको हो।

समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले बुधबार मधेश प्रदेश समितिलाई पठाएको पत्रमा गुप्ताले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई कारबाही गरिएको उल्लेख छ। समितिको असार १७ गते बसेको बैठकले उपलब्ध प्रमाणका आधारमा नेपाली कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) तथा उपधारा ८ (ङ) बमोजिम गुप्तालाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको ढुंगानाले जनाएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा गुप्ता कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला निकट मानिन्छन्।

गुप्ताले भने, “पर्सा क्षेत्र नम्बर १ मा शेखर कोइराला पक्ष बलियो रहेकोले त्यसबाट डराएर संस्थापन पक्षले ममाथि आधारहीन आरोप लगाएर कारबाहीको नाटक मञ्चन गरेको हो।“ उनले कांग्रेसको आसन्न १५ औं महाधिवेशनका लागि पर्सा क्षेत्र नम्बर १ मा क्रियाशील सदस्यतामा कब्जा गर्ने नियतले आफूमाथि संस्थापन पक्षले कारबाही गरेको आरोप लगाए।

उनले अनुशासन समितिका संयोजक ढुंगानाले समितिका बहुमत सदस्यले ’नोट अफ डिसेन्ट’ लेख्दाका बाबजुद पनि आफ्नो मनपरी ढंगले निर्णय गरेको र उक्त निर्णय केन्द्रीय कार्य समितिमा अनुमोदनका लागि पठाउन नसकेको जानकारी आफूले पाएको दाबी गरे। केन्द्रीय कार्यसमितिबाट अनुमोदन नै नभएको निर्णय समितिका संयोजक ढुंगानाले मधेश प्रदेश समितिलाई सिफारिस गर्नु पार्टीको विधानको ठाडो उल्लंघन भएको गुप्ताको भनाइ छ।

गुप्ताले २०७९ सालको चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप सरासर गलत भएको बताए। उनले प्रश्न गरे, “त्यसबेला पर्सा–१ मा पार्टीले गठबन्धन गरेका दलका उम्मेदवार (प्रतिनिधिसभा सदस्य) लाई १११७ मत मात्रै किन आयो? के म मात्रै दोषी हो? अनि पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवारलाई ६२१५ मत कसरी आयो? के त्यसमा पनि म दोषी हो त? यसको जवाफ छ कोहीसँग? ममाथिको कारबाही पूर्वाग्रही सोचले ग्रसित छ, पार्टीको विधानसम्मत पनि छैन।“

उनले यसअघि अनुशासन समितिले २०८० साल असार ३० गतेसम्मका लागि मात्रै निलम्बित गरेको र त्यसपछि पार्टीका महामन्त्री गगन थापाले २०८० साउन ३२ गते एक पत्र नै पठाएर पार्टीको गतिविधि सञ्चालनको जिम्मेवारी दिए पनि पर्सामा संस्थापन पक्षका नेताहरूले आफूलाई काम गर्न नदिएको दाबी गरे।

 


सम्बन्धित समाचार