२५ असार, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी भागमा सामान्यतया थोरै उत्तरतिर सरेको छ, जसको असर देशभरको मौसममा देखिएको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भएको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी चार प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ। त्यस्तै, देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति पनि कोशी प्रदेशसहित अन्य पहाडी भेगका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा रातको समयमा पनि हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। त्यसैले यस्ता क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
















