२६ असार, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
भोटेकोशी–२, इकुमा आज बिहान ५ बजे खसेको पहिरोलेअरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। यसले गर्दा तातोपानी नाका हुँदै काठमाडौं आउँदै गरेका सवारीसाधनहरू भन्सार क्षेत्रमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीका अनुसार, इकुमा सडकमाथिबाट पहिरो खसेको र सडक तलसम्म भासिएको छ। सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको भए पनि तलबाट माटो अड्याउने पर्खाल नलगाई सडक खुलाउन समस्या रहेको उनले जानकारी दिए । सडक पूर्ण रूपमा बन्द भएपछि तातोपानी नाकाबाट राजधानी जान लागेका मालबाहक कन्टेनर, यात्रुबाहक बस, साना-ठूला सवारीसाधन र एम्बुलेन्ससमेत रोकिएका छन् ।
यो घटना बुधबार मात्रै केरुङ नाकामा रोकिएका १२६ जना पर्यटकलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको भोलिपल्ट भएको हो। चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काइदिएपछि ती पर्यटकलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट नेपाल भित्र्याइएको थियो । तीमध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौँ पठाइएको थियो। तर, अहिले केरुङ र कोदारी(तातोपानी दुवै नाकातर्फको सडकमा क्षति पुगेपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ।
















