२६ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाभित्र पर्याप्त सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी र बटुवाहरूले ठूलो समस्या भोगिरहेका छन्। महानगरभित्र मुस्किलले आधा दर्जन स्थानमा मात्र सार्वजनिक शौचालय छन्, र भएका सीमित शौचालयको पनि शुल्क महँगो हुँदा सर्वसाधारणहरू खुला स्थानमा शौच गर्न बाध्य भएका छन्।
शौचालयको अभाव र शुल्कको समस्या
घण्टाघर चोकमा सार्वजनिक शौचालय भए पनि धेरै पुरुषहरू पैसा नभएको बहाना गर्दै खुला रूपमा जथाभावी शौच गरिरहेका छन्। घण्टाघरको शौचालयमा पिसाब फेरेको १० रुपैयाँ, दिसा गरेको १५ रुपैयाँ र नुहाएको ४० रुपैयाँ शुल्क तोकिएको छ, जुन सर्वसाधारणका लागि महँगो भएको गुनासो छ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले वीरगञ्जको बीपी उद्यानस्थित खुला हाट व्यापारमा व्यापार गर्ने र सामान खरिद गर्न आउने पुरुष ग्राहकहरू खुला शौच गर्दै आएको बताए। यस्तै, मिनाबजारमा अवस्थित नेपाल टेलिकमको महसुल काउन्टरको पर्खालमा पनि खुला शौच गर्नेको भीड देखिन्छ। महानगर प्रहरीले सडक छेउछाउमा शौच गर्नेलाई सचेतना जगाउने वा बानी सुधार्ने प्रयास नगरेको गुनासो छ।
जनगुनासो र समाधानका लागि माग
प्रतिष्ठानका अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पर्याप्त मात्रामा सार्वजनिक तथा घुम्ती शौचालय नहुँदा सडक छेउछाउमा खुला रूपमा पिसाब फेर्ने प्रवृत्ति अझै नरोकिएको गुनासो गरे। उनले भने, “यहाँ जहाँ पायो त्यही थुक्ने र पिसाब फेर्ने बानी अधिकांशमा छ। यस्ता गतिविधिले वीरगञ्जलाई फोहर र दुर्गन्धित बनाउँदै आइरहेको छ।” सिंहले वीरगञ्ज महानगरसँग पटकपटक सुलभ र घुम्ती शौचालय व्यवस्थापनको लागि माग राख्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको बताए।
प्रतिष्ठानले वीरगञ्ज महानगर प्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि वि.सं २०७९ जेठ १५ मा वीरगञ्जका सार्वजनिक सरोकारका २३ बुँदे सुझावसहित सुलभ र घुम्ती शौचालयको आवश्यकता औंल्याउँदै ध्यानाकर्षण गराएको थियो। “महानगरमा सार्वजनिक शौचालय पर्याप्त नहुँदा खुलमखुला शौच गरिरहेको दृश्य देख्नुपर्दा लाजैमर्दो हुन्छ,” सिंहले भने, “यहाँ सुलभ शौचालय, घुम्ती शौचालय (पिसाब फेर्नका लागि) तुरुन्त व्यवस्थापन तथा त्यसको दैनिक यथोचित सरसफाई गर्न आवश्यक भइसकेको छ।”
’खुला दिशामुक्त’ घोषणाको कार्यान्वयन फितलो
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले विगत केही वर्षअघि वीरगञ्जलाई खुला दिशामुक्त महानगर घोषणा गरे पनि कार्यान्वयन फितलो रहेको गुनासो गरे। “पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा पनि खुला ठाउँमा शौच गरिरहेको दृश्य देखिन्छ,” उनले भने, “सार्वजनिक शौचालय बनाएर सो प्रवृत्तिको अन्त्य गर्न जरुरी छ।”
महानगरको भनाइः सीमित शौचालय र निर्माण प्रक्रिया
महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरमा करिब आधा दर्जन बढी स्थानमा सार्वजनिक शौचालय रहेको जानकारी दिए। उनका अनुसार, घण्टाघर, पुरानो बसपार्क, नयाँ बसपार्क, लक्ष्मणवा चोकलगायत स्थानमा शौचालय छन्। उनले पावरहाउस चोकमा नयाँ सार्वजनिक शौचालय निर्माण भइरहेको पनि जानकारी दिए।
















