२७ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले बिहीबार साँझको मन्त्रिपरिषद् बैठकबाट प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाईमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सतिश कुमार सिंहको अध्यक्षतामा बसेको बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ। यसैगरी, प्रदेश सरकारले कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि सहयोगका लागि आह्वान गरेको छ।
मन्त्रिपरिषद् बैठकले पर्साको वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय पनि गरेको छ। खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्करसहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।
















