२७ असार, काठमाडौं । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट एक नेपाली युवा दीपक थापा भारतीय राहदानीसहित पक्राउ परेका छन् ।
उनलाई फर्जी कागजातका आधारमा भारतीय मतदाता नामावलीमा नाम दर्ता गराएर राहदानी लिएको आरोप लागेको छ । भारतीय प्रहरीका अनुसार, दीपक थापालाई छानबिनका लागि नियन्त्रणमा लिइएको हो। प्रारम्भिक सोधपुछका क्रममा उनले आफूलाई मध्यप्रदेशको जबलपुर निवासी बताए पनि, उनका साथबाट बरामद गरिएका कुनै पनि कागजातले उनी भारतीय नागरिक रहेको पुष्टि हुन सकेको छैन ।
प्रहरीको दाबीअनुसार, दीपकले सन् २०१९ मा भारतको मतदाता नामावलीमा आफ्नो नाम लेखाएका थिए । उनले केन्ट विधानसभा क्रमाङ्क ९९ को मतदाता सूचीमा नाम दर्ता गराएको र सोही आधारमा भारतीय राहदानी प्राप्त गरेको बताइएको छ ।
दीपक नेपालको कुन ठाउँका बासिन्दा हुन् भन्नेबारे भारतीय प्रहरीले खुलाएको छैन । भारतको निर्वाचन आयोगको निर्देशनमा उनीमाथि कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । यो घटनाले नेपाली नागरिकहरूले नक्कली कागजात प्रयोग गरी भारतीय परिचयपत्र बनाउने प्रवृत्तिमाथि प्रश्नचिह्न खडा गरेको छ।















