२७ असार, काठमाडौं । बङ्गलादेशमा हुने यू–२० साफ महिला च्याम्पियनसिप २०२५ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे खेल सुरु हुनेछ । यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपटक आमनेसामने हुन लागेका हुन् । दुई वर्षअघि बङ्गलादेशमै भएको अघिल्लो प्रतियोगितामा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो ।
यसपटकको च्याम्पियनसिपमा बङ्गलादेश, नेपाल, भुटान, र श्रीलङ्का गरी चार टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता डबल राउन्ड–रोबिनको आधारमा सञ्चालन हुनेछ, जसअनुसार हरेक टोलीले एक–अर्कासँग दुई–दुई पटक खेल्नेछन्। लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अंक ल्याउने टोलीलाई विजेता घोषित गरिनेछ ।















