२७ असार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आठ दिनको अन्तरालपछि आज सुनको मूल्य निर्धारण गरेको छ।
विलासिता करको विरोधमा आन्दोलनरत व्यवसायीहरूले असार १९ गतेदेखि मूल्य तोकेका थिएनन्, तर सरकारसँगको सहमतिपछि उनीहरू काममा फर्किएका छन्।
आजको मूल्यसूची अनुसार, छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९१ हजार ८०० तोकिएको छ। यसअघि असार १९ गते छापावाल सुनको मूल्य १ लाख ९२ हजार १०० थियो, जसले आज सुनको भाउ सामान्य घटेको देखाउँछ । यसैगरी, चाँदीको मूल्य प्रति तोला २ हजार २२० रुपैंया पुगेको महासंघले जनाएको छ। असार १९ गते चाँदीको मूल्य २ हजार १७० रुपैंया रहेको थियो ।
आज चाँदीको भाउ बढेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएका थिए। तर, बिहीबार अर्थ मन्त्रालयमा सरकारसँग ६ बुँदे सहमति भएपछि उनीहरू आजदेखि आफ्नो व्यवसाय सञ्चालनमा फर्किएका छन् ।
सहमति अनुसार, विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकनका लागि सिफारिस गरिनेछ। यसका लागि अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिनेछ। उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारीहरू सदस्य रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने सहमतिपत्रमा उल्लेख छ।















