२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गति दिन र राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सजगतापूर्वक लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ ।
यस नीतिले ब्याजदर घटाउने र निजी क्षेत्रमा कर्जा प्रवाह बढाउने लक्ष्य राखेको छ। केन्द्रीय बैंकले प्रमुख नीतिगत दरहरूमा कटौती गरेको छ। स्थायी तरलता सुविधा दर ० दशमलव ५ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशतमा झारिएको छ । त्यसैगरी, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत बनाइएको छ। योसँगै, स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत कायम गरिएको छ ।
गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले मौद्रिक नीतिको कार्यदिशा लचिलो बनाइएको जानकारी दिए। हाल बजारमा रहेको अधिक तरलताले ब्याजदर घटिरहेको सहज परिस्थितिलाई यस नीतिको आधार मानिएको छ । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत हुने प्रक्षेपण गरेको छ। यो प्रक्षेपणले निजी क्षेत्रको आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने प्रक्षेपण गरेको छ, भने मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकको यो लचिलो मौद्रिक नीतिले सरकारी लक्ष्यहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।















