प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२७ असार,ठोरी । लामो समयदेखि संरक्षणका क्षेत्रमा सक्रिय सुनाखरी उपभोक्ता समितिले ज्ञानवाटिका मावि सुवर्णपुरमा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रममा ५५ जना विद्यार्थीलाई जनही २ हजार रुपैयाँका दरले कुल १ लाख १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो ।

समितिका सचिव जीवन श्रेष्ठले दिएको जानकारीअनुसार, तराई भु–परिधी (त्ब्ी) कार्यक्रमको सहकार्यमा पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको सुनाखरी उपभोक्ता समितिले अक्षय कोषको ब्याजबाट सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको हो। ताल कार्यक्रमबाट प्राप्त अक्षयकोष सुवर्ण बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिएको र सोही कोषको ब्याज रकमबाट यो छात्रवृत्ति वितरण गरिएको श्रेष्ठले बताए ।

वितरित छात्रवृत्ति वन्यजन्तुले अन्नबाली र पशु चौपायामा क्षति पु¥याएका घरका, जंगल किनारमा बसोबास गर्ने, विपन्न, बुबा वा आमाविहीन विद्यार्थीका साथै १४ जना दलित विद्यार्थीहरूलाई प्रदान गरिएको समितिले जनाएको छ।

यसअघि, गत वैशाखमा पनि समितिले सुवर्णपुरका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत सोही प्रकृतिका ७५ जना विद्यार्थीलाई जनही १५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको थियो।

यसैगरी, सचिव श्रेष्ठले यसै साताभित्र समितिले सुवर्णपुरको ज्ञानवाटिका मावि, बाल प्रतिभा प्रावि गडुवालाईन र नेरा प्रावि ठूलोबाघमोर्चाका बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हाउस ड्रेस प्रदान गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।

छात्रवृत्ति वितरण कार्यक्रम सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनको अध्यक्षता तथा समाजसेवी लेखमान थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष चन्द्र बहादुर नेवार, रेन्जर मोहन अर्याल, शिक्षक महासंघ अध्यक्ष अमृत श्रेष्ठ, सुवर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुन लामा, समितिका पदाधिकारीहरू, विव्यस सदस्यहरू लगायत शिक्षक, अभिभावक एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

 

 


सम्बन्धित समाचार