२७ असार, काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीले आजदेखि पसल खोलेका छन् ।
करिब एक महिना लामो आन्दोलन स्थगित गरेर उनीहरुले आजदेखि व्यवसाय सञ्चालन गरेका हुन् । नयाँ बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा जडित गरगहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरिएपछि व्यवसायीहरू आन्दोलित भएका थिए। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सहमति जुटेपछि आन्दोलन स्थगनको घोषणा गरिएको हो ।
सहमतिमा सुन र हिरामा लागेको कर र भ्याटबारे अध्ययन गर्न कार्यदल गठन गरिने, कार्यदलले प्रतिवेदन पेस नगरेसम्म बढेको कर र भ्याट लागू नगर्ने, विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन प्रक्रिया अघि बढाउने लगायतका सहमति भएको छ ।
सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। यो सहमतिले सुनचाँदी व्यवसायमा देखिएको गतिरोध अन्त्य गरी बजारमा सामान्य अवस्था फर्काएको छ।















