Logo

२७ असार, वीरगञ्ज । मधेश प्रदेश सरकारले पहिलोपटक वार्षिक बजेटमा रेनवाटर हार्भेस्टिङ ‘वर्षा जल संकलन’ र वाटर रिचार्ज ‘जल पुनर्भरण’ परियोजनालाई समावेश गर्दै ऐतिहासिक निर्णय गरेको छ। प्रदेश सभा सदस्य रहबर अन्सारीको विशेष पहलमा यो परियोजना उनको निर्वाचन क्षेत्र वीरगञ्ज महानगरपालिका–१४ बाट सुरु गरिएको हो।

वडा नं.–१४ मा रहेका खाली सार्वजनिक जग्गाको पहिचान गरी अन्सारीले यो परियोजनालाई पाइलट मोडेल ‘परीक्षण परियोजना’ का रूपमा अघि बढाएका छन्। यसको मुख्य लक्ष्य भविष्यमा मधेश प्रदेशका अन्य वडाहरूमा समेत विस्तार गर्नु रहेको छ। प्रारम्भिक चरणका लागि परियोजनामा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उनको यो परियोजनालाई एक दूरदर्शी सोच र रणनीतिक पहलको रुपमा लिन सकिने जानकारहरु बताउछन् । नेकपा (माओवादी केन्द्र) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित अन्सारी युवा सोच र आधुनिक प्रविधिलाई परम्परागत सीपसँग जोडेर वातावरण संरक्षणका लागि महत्वपूर्ण काम गर्न खोजेको देखिएको जानकारहरु बताउछन् ।

यस परियोजना अन्तर्गत वर्षाको पानी संकलन गर्ने प्रणाली, जल पुनर्भरणका लागि पिट ‘खाल्डो’ निर्माण, र जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन्। वातावरणविद् र योजनाविद्हरूले यस कदमको खुलेर स्वागत गरेका छन्। उनीहरूले यो पहलले मधेश प्रदेशमा दीर्घकालीन जलस्रोत व्यवस्थापनको यात्रा प्रारम्भ भएको बताएका छन्।

अन्सारीको यो प्रयासले मधेश प्रदेशमा पानीको संकट समाधान गर्न र भूमिगत जलस्तर बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रदेश सांसद अन्सारीले भनेका छन् ‘यो केवल एउटा बजेटको पंक्ति होइन, यो वीरगञ्जको घट्दो भू(जल स्तरलाई दीर्घकालीन रूपमा रिचार्ज गर्ने सोच र कार्यको सुरुवात हो। मैले सधैं वातावरणीय मुद्दालाई केवल भाषणको विषय होइन, कर्मको प्राथमिकता बनाउँदै आएको छु।’ उनले भनेका छन्, ‘वीरगञ्जमा Harvesting र Water Recharge परियोजना दीर्घकालीन समाधानको दिशामा पहिलो पाइला हो।

साथसाथै वृक्षारोपण (Plantation) लाई पनि बेवास्ता गर्न सकिन्न। पानी र हरियालीको सहअस्तित्व बिना वातावरण सुरक्षित रहन सक्दैन। हामी सबैको साझा प्रयास र सोचले मात्र वातावरणीय संकटलाई पार गर्न सकिन्छ।’ वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ छप्कैयामा रहेको सार्वजनिक ऐलानी र बविता पराजुली आधारभूत विद्यालयको वरिपरी सांसद अन्सारीको पहलमा वृक्षरोपण गरिएको सयौं विरुवा अहिले हुर्की रहेका छन् ।


सम्बन्धित समाचार