२८ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल (एपीएफ) पर्साले भन्सार छली ९ लाख ४७ हजार ६ सय २५ बराबरको सामान बरामद गरेको छ। बरामद गरिएका सामानहरू थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
शुक्रबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित टाउन हल रोडमा रहेको बीकेसी इम्प्याक्समा छापा मारेको थियो।
त्यहाँ भारतबाट अवैध रूपमा भन्सार छली ल्याई भण्डारण गरी राखेको रु। ६ लाख ५९ हजार ७ सय बराबरको तयारी कपडा बरामद गरिएको छ। बरामद गरिएका कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।
त्यसैगरी, सोही दिन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बि.ओ.पि.) सिर्सियाबाट खटिएको टोलीले वीरगञ्ज १० बाटै आदर्शनगर र छपकैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु.२ लाख ७९ हजार १ सय ५ बराबरको कपडा र किराना सामानहरू बरामद गरेको छ। अवैध रूपमा नेपाल भित्र्याउन लागिएका यी सामानहरू पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

















