२८ असार,काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका १९ जनाको अवस्था अझै अज्ञात छ। उनीहरूको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।
बाढीमा परी हालसम्म ११ जनाको शव फेला परेको भए पनि अधिकांश शवका केही अंग मात्र भेटिएकाले पहिचान गर्न समस्या भएको छ। रसुवाका प्रहरी नायक उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार, भेटिएका अंगहरू परीक्षण र पहिचानका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ। अहिलेसम्म प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठको शव मात्र सनाखत भई अन्त्येष्टि गरिएको छ। बर्दियाका थप दुई जनाको भने पाखुरामा नाम र ट्याटु खोपिएको हुनाले पहिचान गर्न सहज भएको छ।
गोरखाका दुई जना सम्पर्कविहीन रहेको र उनीहरूका कुनै पनि आफन्त सम्पर्कमा नआएको डीएसपी शाहीले बताए। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजीलाई तीव्र पारेका छन्। बाढीले सबैभन्दा बढी क्षति पु¥याएको टिमुरे भन्सार यार्ड क्षेत्रमै खोजी कार्य केन्द्रित गरिएको छ।
शुक्रबार मात्र ११ वटा कन्टेनर र केही इभी गाडीहरू बाढीले पुरिएको स्थानबाट निकालिएको छ। पुरिएका गाडीहरूमा समेत शव हुन सक्ने आशंकामा खोजी कार्यलाई तीव्रता दिइएको शाहीले जानकारी दिए। यस कार्यका लागि एक हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ।

















