प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ असार,बारा । दुई दशकदेखि निजी कम्पनीको भोगचलनमा रहेको बाराको हलखोरिया साझेदारी वनको २९ बिघा जग्गामा शुक्रबारदेखि वृक्षारोपण सुरु गरिएको छ। नेचुरल हर्बल उद्योग प्रा.लि.ले करिब २० वर्षदेखि उपयोग गर्दै आएको उक्त जग्गामा डिभिजन वन कार्यालयले निजी कम्पनीसँगको सम्झौता खारेज गरेपछि वृक्षारोपणको काम अघि बढेको हो।

डिभिजन वन प्रमुख राजीव कुमार झाका अनुसार, साझेदारी वनका तत्कालीन अध्यक्ष राजकुमार अर्यालले वार्षिक १ लाख २५ हजार रुपैयाँ भाडा आउने गरी करिब ५० बिघा वन क्षेत्र विभिन्न निजी कम्पनीलाई उपलब्ध गराएका थिए। तर, दुई महिनाअघि मात्र वन कार्यालयले उक्त जग्गा फिर्ता लिई अबदेखि साझेदारी वनको जग्गा निजी कम्पनीलाई भाडामा नदिने निर्णय गरेपछि उपभोक्ता समूहले नेचुरल हर्बल कम्पनीसँगको सम्झौता खारेज गरेको हो।

हाल सो क्षेत्रमा टिक, सतिससाल, मलेसियन साललगायतका बिरुवा रोपिएका छन्। हलखोरिया साझेदारी वन सन् २०६४ मा उपभोक्ता समूहमा हस्तान्तरण गरिएको थियो। वन कार्यालयका अनुसार अतिक्रमणबाहेकको २ हजार हेक्टर वन क्षेत्र उपभोक्ता समूहलाई जिम्मा लगाइएको थियो। हाल उक्त वनबाट बाराका करिब ४० हजार घरधुरी र २ लाख ४० हजार उपभोक्ताहरू काठ र दाउराका लागि निर्भर छन्।

साझेदारी वनका अध्यक्ष विकल्प भट्टराईका अनुसार, हलखोरिया क्षेत्रमा करिब ६ सय हेक्टर वन क्षेत्र अनुत्पादक अवस्थामा छ। यस्तै, करिब ५ सय घरधुरीले वन क्षेत्र अतिक्रमण गरेर बसोबास गरिरहेको उनले जनाए। “अब साउनदेखि अतिक्रमण खाली गराउने प्रक्रिया सुरु हुन्छ,“ अध्यक्ष भट्टराईले भने, “यसका लागि विभिन्न निकायहरूमा पत्राचार भइसकेको छ। वैज्ञानिक वन व्यवस्थापन लागू भएका प्लटहरू र खाली रहेको वन क्षेत्रमा यस वर्ष वृक्षारोपणको कार्यक्रम छ।“

डिभिजन वन प्रमुख झाका अनुसार, तराईका वन क्षेत्र दिनप्रतिदिन घट्दै गएको र बाँकी रहेका क्षेत्रहरू पनि अतिक्रमण र उजाड अवस्थामा छन्। उनले तराईमा उत्पादनशील वन भएकाले खाली ठाउँहरूमा पुनरुत्पादन गर्न नसक्दा दीर्घकालीन रूपमा वातावरणमा गम्भीर असर पर्न सक्ने चेतावनी दिए।

यस वर्ष हलखोरिया साझेदारी वनको ५० बिघा क्षेत्रमा वृक्षारोपण गर्ने, निजगढको आदर्श सदाबहार सामुदायिक वनभित्र सञ्चालनमा रहेको अलकत्रा उद्योग हटाउने र निजगढ नगरपालिका–१ र २ को सिंगोल क्षेत्रअन्तर्गतको १९ हेक्टर अतिक्रमित वन भूमिमा पनि वृक्षारोपण गरिने डिभिजन वन प्रमुख झाले जानकारी दिए।


सम्बन्धित समाचार