२८ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) लाई केवल एक राजनीतिक सिद्धान्तको रूपमा नलिएर, यसलाई लोकहित, मानव कल्याण र सामाजिक न्यायको दार्शनिक चिन्तनको रूपमा व्याख्या गरेकी छन्।
शनिबार मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो विचार राखेकी हुन्।
एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीले भनिन्, “एमाले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा पूरा गर्न जबजको मार्गदर्शनमा अविचलित रुपमा लागिरहेको छ।”
भण्डारीले जनताको बहुदलीय जनवादको आधारभूत भावना वैदिक संस्कृतिमा पाइने “सर्वे भवन्तु सुखिनः” मन्त्रसँग मेल खाने बताइन्। “जबजले पनि सबै नागरिक सुखी, निरोगी र न्यायसम्मत जीवन जिउन् भन्ने लक्ष्य राखेको छ,” उनले भनिन्।
उनले भने, “आजको आवश्यकता वर्गीय शोषण अन्त्य गरी सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गर्नु हो।” उनले जबज सिद्धान्तले यस्ता जनमुखी आवश्यकतालाई सम्बोधन गर्ने दावी गरिन्।
भण्डारीका अनुसार, जबजले नेपालको समृद्धि र जनताको सुखी जीवनतर्फको मार्गप्रशस्त गर्ने ठूलो दार्शनिक आधार प्रदान गर्छ। नेकपा एमालेले यही मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले पार्टीप्रतिको विश्वास दोहोर्याइन्।















