२८ असार,बर्दिवास । नेकपा एमाले मधेश प्रदेशको शनिबार बर्दिवासस्थित गौतम होटलमा सम्पन्न चौथो बैठकले खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको छ।
बैठकमा एमालेका मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले मन्त्री जयसवाललाई फिर्ता बोलाउने प्रस्ताव पेश गरेका थिए। यादवको प्रस्तावमाथि छलफल गर्दै बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको उपाध्यक्ष यादवले जानकारी दिए।
मन्त्री जयसवालमाथि कमिसन लिएर योजनाहरू बिक्री गरेको, बिचौलियामार्फत खुल्लमखुल्ला योजना दिएबापत ३ देखि ५ प्रतिशत कमिसन मागेको, कमिसनकै कारण ५ करोड रुपैयाँ फ्रिज भएको र आफ्ना नातेदारलाई योजना दिएको आरोप लागेको यादवले बताए। मन्त्रीका कारण पार्टीको इज्जत र प्रतिष्ठामाथि प्रश्न उठेकाले बाध्य भएर उनलाई फिर्ता बोलाउने निर्णय गरिएको यादवको भनाइ छ।
प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा पार्टीका मधेश प्रदेश इन्चार्ज एवं सांसद लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो। बैठकमा सांसदहरू ज्वाला साह, जुलि महतो, प्रभु हजरा, आठवटै जिल्लाका इन्चार्ज लगायत कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो।















