२९ असार, काठमाडौं । मधेशमा यस वर्ष वर्षा कम भएपछि धान रोपाइँमा गम्भीर असर परेको छ। यसैबीच कृषि विज्ञहरूले कम पानीमै उत्पादन दिन सक्ने धानका वैकल्पिक जात रोप्न किसानलाई सुझाव दिएका छन्, जसले वर्तमान संकटलाई न्युनिकरण गर्दै धान उत्पादनमा राहत दिने विश्वास गरिएको छ।
धानबाली विज्ञ डा. उज्वल कुमार कुसवाहाले पानीको अभाव भइरहेका क्षेत्रमा “सुक्खा” जातका धान उपयुक्त हुने जानकारी दिए । उनका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि कार्यालयहरूले प्रवर्द्धन गरिरहेका सुक्खा १ देखि सुक्खा ६ जातका धानले ३ देखि ४ मेट्रिक टनसम्म उत्पादन दिन सक्छन्। त्यस्तै ‘बहुगुनी १’ र ‘बहुगुनी २’ पनि कम पानीमै राम्रो उत्पादन दिन सक्ने जातहरू हुन् ।
डा. कुसवाहाका अनुसार, पानी झनै कम भएका क्षेत्रमा छरुवा धानखेती प्रभावकारी विकल्प हुन सक्छ, जहाँ बीउ सिधै खेतमा छरिन्छ । यस विधिबाट पनि साढे ३ देखि ४ मेट्रिक टनसम्म उत्पादन सम्भव रहेको अनुसन्धानले देखाएको छ। त्यस्तै, घैया प्रजातिका धान र अति सुक्खा क्षेत्रमा कोदो खेती पनि वैकल्पिक उपायका रूपमा उपयुक्त हुने सुझाव उनले दिए ।
कृषि मन्त्रालयका अनुसार मधेश प्रदेशमा अहिलेसम्म जम्मा ३३ प्रतिशत जमिनमा मात्र धान रोपाइँ भएको छ। सिँचाइको अभाव र निरन्तर वर्षा नहुँदा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका अधिकांश खेतहरू बाँझै रहेका छन् । अवस्था गम्भीर बन्दै गएपछि प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
कम पानीमै उत्पादन दिन सक्ने धानका जातहरू नार्कका क्षेत्रीय कार्यालय तथा कृषि सहकारी संस्थाबाट सहजै उपलब्ध हुने भएकाले विज्ञहरूले किसानहरूलाई समयमै बीउ प्राप्त गरी रोपाइँ गर्न आग्रह गरेका छन् ।
सहि जातको छनोट र उचित व्यवस्थापन गर्न सके, कठिन मौसमको बाबजुद पनि उत्पादनमा गिरावट रोक्न सकिने विज्ञहरूको विश्वास छ। यो सुझाव मधेशका चिन्तित किसानहरूका लागि आशाको किरण बन्ने अपेक्षा गरिएको छ ।

















