Logo

२९ असार,वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ।

कार्यक्रमको शुभारम्भ वीरगञ्ज बसपार्कमा अवस्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरी गरिएको थियो। त्यसलगत्तै, वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी आयोजना गरियो।

नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिहरूमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, केसि लामिछाने, मधेस प्रदेश महासंघका श्याम बन्जारा, मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुन लगायतको उपस्थिति थियो।

प्रमुख अतिथि मेयर राजेशमान सिंहले आदिकवि भानुभक्त आचार्यलाई नेपाली भाषाको शिल्पी मात्र नभई नेपाली पहिचानको मेरुदण्डका रूपमा चित्रण गरे। उनले भने, “आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झनको दिन हो। वीरगञ्जमा यस्ता कार्यक्रमहरू हुनुले यो शहरको सांस्कृतिक चेतना र साहित्यिक सक्रियता झल्काउँछ।“

विभिन्न व्यक्तित्व सम्मानित

कार्यक्रममा वीरगञ्जका पुराना तथा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरियो। त्यसैगरी, साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई पनि दोसल्ला, प्रशंसा पत्र र रु. १२,५०० नगदसहित सम्मान गरिएको थियो।

प्रतिष्ठानका सदस्य सुर्यानारायण विकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन गीता भण्डारीले गरेकी थिइन्।

गौतम माध्यमिक विद्यालय, नवदिप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत अतिथिहरूको स्वागत गरे। आयोजना गरिएको प्रतियोगितामा गौतम माध्यमिक विद्यालयका विद्यार्थी क्रिस्टिना कर्ण पहिलो र नारायण माझी दोस्रो भए भने नवदिप एकेडेमीका अरुण यादव तेस्रो स्थान हासिल गरे।

कार्यक्रममा वीरगञ्जका विभिन्न मिडिया प्रतिनिधि, साहित्यप्रेमी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 


सम्बन्धित समाचार