२९ असार,काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई चुस्त पारिएको बताएका छन्। आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको जानकारी दिए।
“अहिले मनसुनको समयमा विभिन्न जोखिमहरू उत्पन्न हुने गर्दछन्। त्यसको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्न तयारी गरिरहेका छौं,“ उनले भने।
गृहमन्त्री लेखकले गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत बताए। “हामीसँग कानुनले नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ,“ उनले थपे, “गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो।“
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ, जसले गर्दा विपद्को जोखिम अझ बढ्न सक्ने आँकलन गरिएको छ।















