२९ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै यी दुई दलले बैठक बहिष्कार गरेका हुन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न समय दिए। उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन समिति नबनाइएकोले समिति गठन नहुँदासम्म विरोध जारी राख्ने बताइन्।
त्यसपश्चात् सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न दिए। उनले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको मागबमोजिम समिति गठन नभएकाले विरोध जारी रहने बताए।
दुवै दलका सांसदहरूले आफ्ना भनाइ राखेपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका थिए।

















