२९ असार,काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले छाउगोठमा राख्ने व्यक्तिहरूलाई कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले छाउगोठमा राखेकै कारण कञ्चनपुरकी २८ वर्षीया कमला दमाईको सर्पको टोकाइबाट मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण गराए।
सांसद सिंहले मुलुकी ऐनमा समेत छाउपडीमा राख्ने वा अन्य कुनै भेदभाव गर्नेमाथि कारबाहीको व्यवस्था रहेको स्मरण गराउँदै तीनवटै सरकारलाई प्रश्न गरे, “के सुदूरपश्चिममा अहिले पनि छाउपडी प्रथा रहिरहनुपर्ने?“
छाउपडीलाई देशकै लागि कलंक भएको भन्दै उनले छाउगोठमा राख्नेलाई कारबाही गर्न माग गरे। “जसले यो काम गरेको छ, तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,“ सांसद सिंहले भने, “यो हाम्रो लागि ठूलो कलंक हो। यो कलंक देशको माथि हो, लोकतन्त्र माथि हो।“
कञ्चनपुरको कृष्णपुर–१ मा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईको शनिबार सर्पको टोकाइबाट निधन भएको थियो।















