Logo

२९ असार, काठमाडौं । कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्ति प्रकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि गम्भीर आरोप लागेको छ।

कर्मचारी सरुवा र नियुक्तिमा घुस डिल भएको अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यो प्रकरणले ओली सरकारको सुशासनको नारामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस प्रकरणको तत्काल छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

रास्वपा सांसद सुमना श्रेष्ठले अडियो काण्डको छानबिनको माग गर्दै सरकारलाई प्रश्न गरिन्, मन्त्रिमण्डलको अर्को काण्ड कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङ भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको कुरो त बुझ्यौ नि ?

आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ। यसको छानबिनको माग गर्दछौँ। उनले अडियोमा भनिएको बा को हुन्, ुदुई तिहाइ मिलिजुली भाग खानलाई हो र, कसको तागत, कस्तो संस्कार, के फरक भयो यी सबै वर्षहरूमा, जनताले के पाए जस्ता प्रश्नहरू तेर्स्याइन्।

यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा संसदमा जवाफ मागेकी छिन्। पूर्वमन्त्री समेत रहेकी शर्माले भनिन्, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन्। यो विषयमा के भएको हो ? प्रधानमन्त्रीज्यूलाई संसद्‍मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु । उनले छानबिन गरेर दोषी जोसुकै होस्, उसमाथि कडाभन्दा कडा कारबाही गर्न माग गर्दै अन्यथा यो सरकारको एक वर्षको उपलब्धि यही हुने चेतावनीसमेत दिइन्।

के हो घुस प्रकरण ?

कास्कीको मालपोत कार्यालयको प्रमुख परिवर्तन गर्न र भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि बिचौलियाले मन्त्रीहरूसँग आधा करोडभन्दा बढीको घुस डिल गरेको अडियोसहितको उजुरी अख्तियारमा पुगेको हो। अडियोमा मालपोत कार्यालयको प्रमुख परिवर्तन गर्न र आफू अनुकूलको कर्मचारी नियुक्तिका लागि बिचौलियाले मन्त्रीसँग ५३ लाखदेखि ७८ लाखसम्मको घुस डिल गरेको सुनिन्छ। यो प्रकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको नाम मुछिएको छ।

बिचौलियाको भूमिकामा पोखराका सुजन लामा रहेको र उनी भूमि व्यवस्था मन्त्रालयका चर्चित बिचौलिया प्रमोद खड्काका चेलाका रूपमा परिचित छन्। अडियोमा लामाले मन्त्री गुप्तालाई कास्की मालपोतको प्रमुख परिवर्तन गर्न र भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गर्न आग्रह गरेको सुनिन्छ।

उनले मन्त्रीलाई २० लाखदेखि ५३ लाखसम्मको घुसको प्रलोभन देखाएको र मन्त्री गुप्ताले जवाफमा मन्त्री अधिकारीले पहिल्यै घुस लिइसकेको दाबी गरेको अडियोमा उल्लेख छ। मन्त्री गुप्ताले भनेका छन्, बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन। यस्तो संवादले मन्त्रीहरूबीच घुसको खेलमा समेत प्रतिस्पर्धा रहेको सङ्केत गर्छ।

जग्गा हत्याउने खेल र कर्मचारी सरुवामा चलखेल ?

यो प्रकरणको केन्द्रमा कास्कीको बाटुले चौरमा रहेको १३५ रोपनीको लिची बगैँचा छ। भाट, राणा, शाह र थकालीहरूको नाममा रहेको यो जग्गा हत्याउन बिचौलियाले मालपोत कार्यालयको प्रमुख परिवर्तन गर्न खोजेको देखिन्छ। तत्कालीन भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ हुँदा यो समूहले उनलाई प्रयोग गरेर जग्गा हत्याउने प्रयास गरेको थियो।

तर, रञ्जिता मन्त्रीबाट हटेपछि यो समूहले मन्त्री गुप्ता र अधिकारीमार्फत आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको छ। अडियोमा बिचौलियालाई मन्त्री गुप्ताले लस्सी, माछा र रक्सी को अफर गरेको र जवाफमा लामाले रक्सी नखाने तर काम भएपछि मन्त्रीलाई नै रक्सी खुवाउने बताएको सुनिन्छ। यो संवादले मन्त्री र बिचौलियाबीचको निकट सम्बन्ध र घुसको खेललाई थप प्रस्ट पार्छ।

हाल कास्की मालपोत कार्यालयका प्रमुख चिरञ्जिवी पौडेललाई हटाएर आफू अनुकूलको कर्मचारी ल्याउन बिचौलियाले यो डिल गरेको हो। २०५६ सालका नम्बर १ का अधिकृत पौडेल आफ्नी क्यान्सर रोगी श्रीमतीको उपचार र रेखदेखका लागि घर पायक सरुवा मागेर माघ २०८१ देखि कास्की मालपोतमा हाजिर भएका थिए।

१३ वर्ष दमौली, लमजुङ र स्याङ्जा मालपोतमा निष्कलङ्क कर्मचारीका रूपमा काम गरेका पौडेललाई पाँच महिना नपुग्दै हटाउन बिचौलियाले मन्त्रीहरूलाई प्रयोग गरिरहेका थिए तर मन्त्रालयका कर्मचारीले नै मन्त्रीलाई मालपोत अधिकृत हटाउने कुरामा नलग्न सुझाव दिएको एक कर्मचारीले बताए । बिचौलियाको समूहले पौडेलको ठाउँमा रामचन्द्र अधिकारीलाई ल्याउन चाहेको छ। अधिकारी अहिले लम्जुङ जिल्लामा मालपोत अधिकृत छन् ।

यो प्रकरणमा भूमि मन्त्रालयका सचिवसमेत जोडिएका छन्। मन्त्रालयका सचिव हुँदा गोकर्णमणि दुवाडी एक दिनमै सरुवामा परेका थिए। पौडेललाई कास्की सरुवा गर्दा दुवाडीको कुर्सी हल्लिएको र उनलाई लमजुङ खटाइएको थियो। यो घटनाले मालपोत कार्यालयको सरुवा प्रकरणमा ठूलो चलखेल हुने गरेको प्रस्ट हुन्छ।

गत साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गाल कार्यालयमा मन्त्री गुप्ताले बिचौलियासँग ५३ लाखको घुस डिल गरेका अडियोसहितको उजुरी दर्ता भएको छ। यो अडियोले मन्त्री र बिचौलियाबीचको घुसको बार्गेनिङ र उनीहरूको स्वार्थलाई उजागर गरेको छ।

यो प्रकरणले ओली सरकारको सुशासनको नारामाथि गम्भीर प्रश्न उठाएको छ। मन्त्रीहरूले बिचौलियासँग मिलेर घुसको डिल गर्नु र कर्मचारी सरुवामा आर्थिक चलखेल गर्नुले सरकारको विश्वसनीयतामाथि धक्का लागेको छ। यस विषयमा हुने थप छानबिन र कारबाहीको पर्खाइमा आम जनता र संसद रहेका छन्।


सम्बन्धित समाचार