प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरण र जुम्ला आन्दोलनको विषयमा सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग
सांसद शाहीले भिजिट भिसा प्रकरणमा आफूहरूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यसको छानबिनका लागि संसदीय समिति गठनको माग गरे। उनले भने, “भिजिट भिसा प्रकरणमा हामीले निरन्तर आवाज उठाउँदै आएका छौं। यसको संसदीय छानबिन समितिको माग गर्छौं।“

जुम्ला कार्यालय खारेजीमा खानेपानी मन्त्रीमाथि प्रश्न
त्यस्तै, शाहीले गत बैशाख ७ गते जुम्ला गएका खानेपानीमन्त्री प्रदीप यादवले संघीय खानेपानी तथा ढल निकास कार्यालय जुम्लामै रहने प्रतिबद्धता जनाएको तर अहिले सो कार्यालय खारेज गरिएकोप्रति आपत्ति जनाए। उनले मन्त्री यादवको मिलोमतोमा कार्यालय खारेज गरिएको आरोप लगाउँदै प्रश्न गरे, “उहाँकै मिलोमतोमा कार्यालय खारेज गरिएको छ। यहाँ कसको विश्वास गर्ने? मन्त्रीहरूले पटक–पटक झुट बोल्न थाले जनताका अगाडि। के यस्ता मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने?“

शाहीले हालै मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति पनि आपत्ति जनाउँदै सो निर्णय खारेज गर्न माग गरे। उनले भने, “२०८२ साल असार २५ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको चलानी नं. ६४७ लाई खारेज गरी पाउँ। अहिले जुम्लामा आन्दोलन भइरहेको छ। यसरी जुम्लामा गएर कार्यालयहरू सार्न पाइँदैन। कार्यालयलाई यथावत् राखियोस्।“

सांसद शाहीले संघीयता कार्यान्वयनका नाममा ग्रामीण क्षेत्रका अधिकार कटौती गर्न नहुने भन्दै केन्द्र सरकारको नीति र मन्त्रीहरूको व्यवहारप्रति आक्रोश व्यक्त गरे।


सम्बन्धित समाचार