Logo

२९ असार,वीरगञ्ज । मधेस प्रदेश सरकारले भारतबाट नेपाल आउने पर्यटकहरूलाई सीमानाकामा हुने सुरक्षा जाँच र अन्य प्रक्रियाका अनावश्यक झन्झट हटाउन पहल सुरु गरेको छ। प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले मधेस प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई भारतीय पर्यटकलाई सहजीकरण गर्न निर्देशन दिएका छन्।

मन्त्री कुशवाहाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला प्रशासन कार्यालयहरूलाई पठाएको पत्रमा भारतीय सीमानाकाबाट नेपाल घुम्न आउने पर्यटकहरूलाई सुरक्षा जाँचका नाममा अनावश्यक झन्झट दिने र उचित व्यवहार नहुनेजस्ता गुनासोहरू प्राप्त भएको उल्लेख गरेका छन्। उनले यी गुनासोहरूलाई सम्बोधन गर्दै भारतीय पर्यटकलाई आवश्यक सहजीकरणको व्यवस्था मिलाउन अनुरोध गरेका छन्।

यो पहललाई मधेस प्रदेशमा भारतीय पर्यटकको आगमन बढाउन र पर्यटन क्षेत्रको विकास गर्नका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। सीमानाकामा सहज वातावरण भएमा पर्यटकको संख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

यस पत्रको बोधार्थ गृह मन्त्रालय (सिंहदरबार, काठमाडौं), मधेसका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सञ्चार तथा कानून मन्त्रालयलाई समेत दिइएको छ।

 


सम्बन्धित समाचार