प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन्।

उपप्रमुख डंगोलले कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन्। यसमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेछ।

यसैगरी, उपप्रमुख डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेकोमा महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी छिन्।

“समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं,“ उनले भनिन्, “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं।

विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितोमिठो अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए। सबै कुरा मन्थन हुँदै गएको छ। समस्याको समाधान पनि हुँदै गएको छ। आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं।“


सम्बन्धित समाचार