२९ असार,बारा । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) ले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा बारामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। बकुलियामा आयोजित यस कार्यक्रममा “नागरिक समाजको भूमिका“ विषयमा सरोकारवालाहरूबीच छलफल भएको थियो।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले मानव अधिकार संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।
त्यसैगरी, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले एमालेका नेता र कार्यकर्ताले कुनै पनि हिंसात्मक कार्य गर्न नहुने उल्लेख गरे। उनले यस्तो कार्य गर्ने जुनसुकै तहका नेता वा कार्यकर्ता भए पनि पार्टीले कारबाही गर्ने स्पष्ट पारे। पौडेलले गलत गर्ने जोसुकैलाई पनि पार्टीले संरक्षण नगर्ने बताउँदै मानव अधिकार हनन हुन नदिन सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए।
कार्यक्रममा वडा नम्बर १४ की अध्यक्ष तथा एमाले मधेस प्रदेश कमिटी सदस्य चयन गुरुङ, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशी, एमाले नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, जनकल्याण साकोशकी अध्यक्ष कमला घिमिरे लगायतले मानव अधिकार एलायन्सको स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए।
मानव अधिकार एलायन्स बारा जिल्ला कमिटी अध्यक्ष शान्ता कुमारी बजगाई (रिना) को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कुबेर न्यौपाने ले गरेका थिए भने रुस्तम अन्सारी ले स्वागत मन्तव्य दिएका थिए।

















