३० असार, सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ मा गएराति एक दर्दनाक घटना घटेको छ। भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार भारतको अररिया जिल्ला घर भएका अजात मियाँले साली अर्चना खातुनमाथि राति करिब २ बजे गोली प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार गोली प्रहारको कारण भने हालसम्म खुल्न सकेको छैन। मृतक अर्चना खातुन आफ्नी बहिनीको साथमा मात्रै घरमा बस्दै आएकी थिइन् । स्थानीयका अनुसार अजात मियाँ रातिको समयमा घरमा आइरहने गरेका थिए र हिजो पनि राति अचानक आएर गोली प्रहार गरेका थिए ।
प्रहरी उपरीक्षक तिम्सिनाले अजात मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको र यसअघि पनि चोरीलगायतका अपराधमा संलग्न रहेको पुष्टि गरेका छन् । घटनापछि अभियुक्त फरार रहेका छन् र उनको खोजीका लागि नेपाल–भारत सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पीडित परिवारलाई न्याय दिलाउन र दोषीलाई कानूनी कारबाही गराउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको जनाएको छ ।

















