३० असार,काठमाडौं । भिजिट भिसा काण्डको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। दुवै दलले विशेष संसदीय समिति वा उच्चस्तरीय न्यायिक समिति गठन नभएकोप्रति असन्तोष जनाउँदै बैठक बहिष्कार गरेका हुन्।
प्रतिनिधिसभाको बैठक सुरु भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नासाथै रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाए। सभामुखले पहिलो बोल्ने अवसर रास्वपाका सांसद अशोक चौधरीलाई दिएका थिए। चौधरीले छानबिन समितिको गठन नभएसम्म विरोध जारी रहने स्पष्ट पारे।
त्यसपछि राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आफ्नो धारणा राख्दै विगतदेखि उठाउँदै आएको माग अझै नपुरा भएकाले विरोध नरोकिने बताए।
संबोधनपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए, जसले संसदको वातावरणमा तनाव थपेको छ।

















