३० असार,काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रदर्शनकारीहरू पक्राउ परेका छन्। संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेविसंघ बानेश्वर बहुमुखी क्याम्पस इकाई समिति र नेपाल कमर्स क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा भएको प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य सरोज तिमल्सिना, नेविसंघ काठमाडौं अध्यक्ष अंशुल केसी, त्रिवि केन्द्रीय क्याम्पसका पूर्व स्ववियू सभापति श्यामराज ओझा, नेपाल कमर्स क्याम्पस स्ववियू कोषाध्यक्ष सुशील खड्का, नेपाल कमर्स क्याम्पस स्ववियू सदस्य रन्बिर मिश्रा, नेपाल इन्जिनियरिङ कलेज कार्यवाहक इकाई अध्यक्ष पृथ्वीजङ्ग थापा, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनका अध्यक्ष महेन्द्र खड्का, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनका उत्सव देवकोटा र नेता एलेक्स सिङ्हानियासहितका विद्यार्थी नेताहरू पक्राउ परेका छन्।
नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्वबिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने लगायतका माग राखेर विरोध प्रदर्शन गरेको हो।

















