३० असार,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देश अहिले ’बहुआयामिक संकट’ को अवस्थाबाट गुज्रिरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार देश अघि बढ्न नसकेको र यसले गम्भीर संकट निम्त्याएको धारणा व्यक्त गरे।
“आज सर्वत्र भ्रष्टाचार, अराजकता र बेथितिले अघि बढेको देखिन्छ,“ उनले भने, “गम्भीर समीक्षा नगर्ने हो भने निकै ठूलो विस्फोटतिर जाने अवस्था छ।“
लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनतासामु गरिएका प्रतिबद्धताहरूतर्फ देश अघि बढेको छ कि छैन भन्दै उनले प्रश्न उठाए। प्रचण्डको यो भनाइले देशको वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ, साथै समयमै सुधार नभए भयावह परिणाम आउन सक्ने चेतावनी दिएको छ।















