Logo

३० असार,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको गम्भीर आरोप लगाएका छन्। उनले यो ’अप्राकृतिक गठबन्धन’ को चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको टिप्पणी गरे।

सदनलाई सम्बोधन गर्दै दाहालले भने, “तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहीत स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।“ उनले दुई ठूला दल मिल्दा जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी सोच र अहंकारका कारण सार्वभौम सांसदलाई समेत बिचौलियाको चलखेलको मैदान बनाइएको जिकिर गरे।

कुशासन र प्रधानमन्त्रीको सुशासन आयोगमाथि प्रश्नः
प्रचण्डले सरकारको एक वर्षको काम हेर्दा संख्याको दम्भमा ’कुशासनका पहाड ठडिए’ को बताए। उनको भनाइ थियो, “प्रधानमन्त्रीको बेडरुममा बिचौलिया र दलालको पहुँच पुष्टि भइसकेको छ। सरकारमा रहेका पार्टीका नेताले गठबन्धनको औचित्य पुष्टि गर्न भनिसकेका छन्।“

उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिल भइरहेको भन्दै नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम भइरहेको आरोप लगाए।

लोकतन्त्र र अर्थतन्त्रमा चुनौतीः
प्रचण्डले एक वर्षअघि विश्वासको मत लिँदै गर्दा अलोकतान्त्रिक गठबन्धनले लोकतन्त्रमा संकट सरकारकै रबैयाबाट आउँछ भनी आफूले खबरदारी गरेको स्मरण गरे। उनले भने, “प्रचण्डसँगको रिस लोकतन्त्रसँग नलिनु होला भन्ने खबरदारी गरेको थिएँ। सामान्यतया लोकतन्त्रमा ठूला दल मिलेर सरकार बनाइँदैन। कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा प¥यो। अघिल्ला सरकारको कामबाट थालेको सिर्जित परिणामबाहेक यो एक वर्षमा केही देखिएन। अर्थतन्त्रका सीमित सूचक देखाएर अर्थतन्त्रमा ठूलै सुधार आएको दाबी गरियो।“

कमिशन डिल र दलालको नियन्त्रणः
स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा चलखेल भइरहेको भन्दै प्रचण्डले भने, “सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो। प्रधानमन्त्री आफैँ अध्यक्ष रहेको सुशासन आयोगको हविगत के रहेछ भन्ने प्रष्ट भएन र!“

प्रचण्डको यस सम्बोधनले सरकारको पारदर्शिता, सुशासन र लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।


सम्बन्धित समाचार