३० असार,काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले मन्त्री गुप्ताको घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा पनि सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरे।
“सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ?“ सांसद साहले प्रश्न गरे, “दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो।“ उनले सदनमार्फत मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरे।
मन्त्री गुप्तामाथि हालै कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न र पोखराको जग्गा विवाद मिलाउन ५३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। उक्त घुस डिलको अडियो सार्वजनिक भएपछि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ। यस प्रकरणले सरकारको सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।















