३० असार,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधान संशोधनका लागि आफ्नो पार्टी पूर्ण रूपमा स्पष्ट रहेको बताउँदै त्यसका लागि सात बुँदे एजेन्डा प्रस्तुत गरेका छन्। सोमबार प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार गठनका बेला कांग्रेस र एमालेले संविधान संशोधन गर्ने वाचा गरे पनि सोअनुसार व्यवहार नगरेकोमा असन्तुष्टि व्यक्त गरे।
प्रचण्डले सरकारलाई चुनौती दिँदै भने, “म सरकारलाई भन्न चाहन्छु, यदि दुई तिहाइ पुगेन भने, त्यो जुटाउने काम हाम्रो दलले गर्नेछ। ढुक्कसँगले अगाडि बढ्नुस्।“ तर, यसका लागि संविधान जारी हुँदादेखिका असन्तुष्टिहरू सम्बोधन हुने गरी संशोधन गरिनुपर्ने उनको अडान छ। आफूहरूले संविधान जारी हुँदा नै फरक मत राखेको उनले स्मरण गराए।
प्रचण्डले प्रस्तुत गरेका संविधान संशोधनका ७ बुँदाहरूः
१. शासकीय स्वरूपः यसमा कस्तो परिवर्तन खोजिएको हो भन्नेबारे विस्तृत व्याख्या गरिएको छैन।
२. निर्वाचन प्रणालीः कुन प्रकारको निर्वाचन प्रणालीमा सुधार गर्न खोजिएको हो भन्ने स्पष्ट छैन।
३. प्रदेशको नामाङ्कनः प्रदेशहरूको नामकरणसम्बन्धी विवाद र जटिलता समाधान गर्नेबारे संकेत गरिएको छ।
४. प्रदेशको सीमाङ्कन, पहिचान र अधिकारको सम्बोधनः प्रदेशहरूको सिमाना, जातीय÷क्षेत्रीय पहिचान र अधिकारसम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख छ।
५. वित्तीय सङ्घीयताः वित्तीय अधिकार बाँडफाँड र प्रदेश तथा स्थानीय तहको वित्तीय स्वायत्ततासम्बन्धी विषयहरू।
६. अझ राम्रो समावेशिताः राज्यका हरेक निकायमा थप समावेशी प्रतिनिधित्वको सुनिश्चितता।
७. सामाजिक न्यायमा थप व्यवस्थाः सामाजिक न्यायका लागि संविधानमा थप व्यवस्थाहरूको आवश्यकता।
प्रचण्डले “संविधान जारी हुँदाका असन्तुष्टि हल हुने गरी संविधानको अग्रगामी संशोधन गर्ने शासकीय स्वरुप, निर्वाचन प्रणाली र प्रदेशको नामाङ्कन, सीमाङ्कन पहिचान र अधिकारको सम्बोधन गर्ने, वित्तीय सङ्घीयता, अझ राम्रो समावेशिता र सामाजिक न्यायको लागि संविधान संशोधन गर्न सरकारसँग हिम्मत छ?“ भनी प्रश्न गरेका छन्। उनले सरकारलाई यो हिम्मत गर्न सुझाव दिएका छन्।
यद्यपि, प्रचण्डले यी एजेन्डाहरूको विस्तृत व्याख्या भने गरेनन्। शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नामाङ्कन, सीमाङ्कन, पहिचान र अधिकारको सम्बोधन, वित्तीय सङ्घीयता, समावेशिता र सामाजिक न्यायमा थप व्यवस्थाका बारेमा उनले विषय मात्र प्रस्तुत गरेका छन्।















