३० असार,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्। मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि थापाले यस्तो माग गरेका हुन्।
थापाका अनुसार, यदि बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर आफ्नो छानबिनका लागि तयार हुनुपथ्र्यो।
’प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ’
सोमबार काठमाडौंमा कांग्रेसको बुद्धिजीवी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो। यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो।’
उनले थपे, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो। प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु। तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’
’दूधको दूध, पानीको पानी हुनुपर्छ’
थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नपुग्ने बताए। उनले यस प्रकरणको गहिरो छानबिनको माग गरे।
‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ। यसको छानबिन हुनुपर्छ,’ थापाले जोड दिए। उनले यसमा संलग्न अन्य व्यक्तिहरूको पनि अनुसन्धान हुनुपर्ने बताए। ‘संलग्न भएका अरू को–को छन्? कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ। तर, अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ।’

















