३० असार,गुल्मी । गुल्मी जिल्लामा केही दिनको अन्तरालमा दुईजना बेवारिसे पुरुष मृत अवस्थामा फेला परेका छन्।
पछिल्लो घटना सोमबार दिउँसो धुर्कोट गाउँपालिका–२ स्थित पिपलधारा उदिना ठूलाभिरा सीमामा भएको हो। अन्दाजी ७० वर्ष उमेरका देखिने एक पुरुष मृत अवस्थामा फेला परेको गुल्मी प्रहरीले जनाएको छ। मृतकको हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा एक टोली घटनास्थलमा खटाइएको छ।
यसैगरी, आइतबार साँझ पनि मुसिकोट नगरपालिकास्थित वामी–रिडी सडकखण्डको छेउमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका थिए। मुसिकोट नगरपालिका वडा नम्बर–५ इन्द्रेगौडास्थित सडक छेउमा अन्दाजी ७०–७५ वर्ष उमेरका एक पुरुषको शव भेटिएको प्रहरीले बताएको छ।
यी दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

















