३१ असार,वीरगञ्ज । रसुवागढी नाकामा आएको भीषण बाढीले बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको अवस्था अझै अज्ञात रहेको छ। बारा जिल्लाको फेटा गाउँपालिका–१ भलुही घर भई रसुवा जिल्लास्थित इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २५ वर्षीय ठाकुर बाढी आएदेखि नै परिवारको सम्पर्कमा छैनन्।
बेपत्ता मुन्ना ठाकुरका बुबा चिरञ्जीवी ठाकुरले छोराको अवस्थाबारे कुनै जानकारी नपाएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। परिवारको यो पीडादायी अवस्थाबारे जानकारी पाएपछि बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले ठाकुरका परिवारजनसँग भेटघाट गरेका छन्।
भेटका क्रममा सांसद श्रेष्ठले नेपाल सरकार र नेपाल प्रहरीका उच्च निकायसँग ठाकुरको खोजी तीव्र पार्न र यथाशीघ्र उनको अवस्थाबारे जानकारी गराउन माग गरेका छन्। साथै उनले परिवारजनलाई धैर्य धारण गर्न आग्रह गर्दै बेपत्ता जवानको खोजी कार्यमा तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।

















