३१ असार,काठमाडौं । अमेरिकाको लुइसियाना राज्यमा भएको एक सडक दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
लुइसियाना राज्य प्रहरीले घटनाको पुष्टि गर्दै मृत्यु हुनेहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेको जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको कार २०१० मोडलको होन्डा एकर्ड थियो र प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाको समयमा कार यादवले चलाइरहेको खुलेको छ। घाइतेहरूको पहिचान भने खुलाइएको छैन।
लुइसियाना टेक विश्वविद्यालयका अधिकारीहरूले मृत्यु भएका दुवै विद्यार्थी सोही विश्वविद्यालयमा अध्ययनरत रहेको पुष्टि गरेका छन्। विश्वविद्यालयका अध्यक्ष डा. जिम हेन्टरसनले यादव र ओलीको निधनले विश्वविद्यालय दुःखी भएको बताएका छन्। उनले घाइते भएका अन्य दुई जना पनि विश्वविद्यालयकै विद्यार्थी रहेको पुष्टि गरे पनि उनीहरूको परिचय भने खुलाएका छैनन्।
















