३१ असार,चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ।
केन्द्रका सञ्चालक समृद्ध भन्तना ले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षणका साथै विभिन्न परिकारको परीक्षणसमेत सुरु गरेका हुन्। व्यावसायिक रूपमा जी–९ केरा लगाए पनि उनले जातीय परीक्षणका लागि विभिन्न जातका मालभोग, चिनी चम्पा, हाइब्रिड, जोगी केरा, मुग्रे, धुस्रे, मालुङ्गे, झप्री, मिर्कोटे, घीउकुमारीलगायत स्थानीय, स्वदेशी तथा विदेशी जातका केराको परीक्षण सुरु गरेको जानकारी दिएका छन्।
भन्तनाका अनुसार, यहाँ लगाइएका केराको आनुवंशिक विविधता अध्ययन भइरहेको छ। विशेषगरी, यहाँका स्थानीय जातका केरामा पानामा रोग, सिवाटोवा र बन्चिटपजस्ता रोगहरूसँग लड्ने क्षमताको अध्ययन भइरहेको छ। विगत ३ वर्षदेखि केराको जातीय परीक्षण गर्दै आएका भन्तना हाल नतिजा कस्तो हुन्छ भन्नेमा ध्यान केन्द्रित गरिएको बताउँछन्।
उनले केन्द्रमा केराबाट आलुको चिप्स, सुकुटी, आलुको लिटो, पेयपदार्थ (वाइन) लगायतका उत्पादनको तयारीमा छन्। वाइन र लिटो उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले सहयोग गरेको छ। उनले रैथाने बालीबाट कस्ता वस्तु उत्पादन गरेर विश्व बजारमा पु¥याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिएको बताए।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट जैविक प्रविधि विषयमा स्नातकोत्तर गरेका भन्तना केराखेती गरेर विभिन्न किसिमका उत्पादन गर्न सकिने बताउँछन्। राज्यले कृषि क्षेत्रमा गरेको लगानीबाट प्रतिफल लिन सके युवापुस्ता विदेश पलायन हुनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।

















