३१ असार,काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपाली लाई बोल्न दिएका थिए। उनले भिजिट भिसा प्रकरणमा आफूहरूको मागअनुसार छानबिन समिति नबनाइएकोले समिति गठन नहुँदासम्म विरोध जारी राख्ने बताए।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही लाई बोल्ने समय दिए। उनले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको मागबमोजिम समिति गठन नभएकाले विरोध जारी रहने बताए।
दुवै दलका सांसदहरूले आफ्ना धारणा राखेपछि उनीहरू संसद बैठक कक्षबाट बाहिरिएका थिए।

















