३१ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लाई पक्राउ गरी छानबिन गर्न माग गरेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही ले यस्तो माग गरेका हुन्।
मन्त्री गुप्ताले मंगलबार मात्रै राजीनामा दिएका छन्। तर, सांसद शाहीले राजीनामा गराएर मात्रै उनलाई उम्काउन नमिल्ने भन्दै गुप्तालाई तत्काल पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गरे। शाहीले भने, “घुस डिल प्रकरणमा मन्त्रीले राजीनामा दिनेबित्तिकै समस्या समाधान हुन्छ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। अन्य मन्त्रीको नाम पनि आएको छ। सबैमाथि छानबिन होस्।“
सरकारमाथि कटाक्ष गर्दै प्रमुख सचेतक शाहीले अब नेपाललाई ’भ्रष्टाचारीको देश’ का रूपमा गिनिज बुकमा नाम लेखाउने अवस्था बनेको बताए। उनले भने, “नेपाल सगरमाथाको देश, भगवान् गौतम बुद्धको देश भन्थे। अब गिनिज बुकमा नाम लेखाउनुस् भ्रष्टाचारीहरूको पनि देश भनेर।“

















