३१ असार, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक र पत्रकारबीचको विवादले चर्को रूप लिएको छ। समाचार संकलनका क्रममा चिकित्सकबाटै दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ, पर्साले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ। चिकित्सकहरुले आकस्मिक विभागमा पत्रकारले दुर्व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघ, नारायणी शाखाले कारबाहीको माग गरेको छ । यस घटनाले वीरगन्जको स्वास्थ्य क्षेत्र र सञ्चार क्षेत्रबीच तनाव बढाएको छ । दुवै पक्षले आ–आफ्नो सुरक्षा र कार्य स्वतन्त्रताको माग गरेका छन्।
पत्रकार महासंघको आपत्ति : ‘समाचार संकलनमा अवरोध र दुर्व्यवहार’
नेपाल पत्रकार महासंघ, पर्सा शाखाले भने नारायणी अस्पतालमा समाचार संकलनका क्रममा पत्रकार आबिद हुसैनमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा आम नागरिकलाई सुसूचित गराउने सञ्चारकर्मीको कर्तव्य निर्वाहका क्रममा चिकित्सकहरूबाटै समाचार संकलनमा अवरोध पुर्याइएको र मोबाइल खोसेर भिडियो मेटाइएको घटना आपत्तिजनक रहेको उल्लेख छ।
महासंघले पछिल्लो समयमा समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार र आक्रमणका घटनाले सञ्चार क्षेत्र असुरक्षित बन्दै गएको भन्दै सरोकारवाला निकायलाई पत्रकारको सुरक्षामा संवेदनशील बन्न आग्रह गरेको छ। महासंघले नारायणी अस्पतालमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ।
चिकित्सक संघको आक्रोशः ‘पत्रकारको आडमा नियोजित हमला’
नेपाल चिकित्सक संघ, नारायणी शाखाका अध्यक्ष डा.मनोज गुप्ता र सचिव डा.नौसाद हकद्वारा जारी विज्ञप्तिमा पत्रकार आबिद हुसैन र अन्य केही व्यक्तिले अनुमतिबिना आकस्मिक विभागमा प्रवेश गरी चिकित्सकमाथि जबर्जस्ती क्यामेरा तेर्साउने, होहल्ला गर्ने र हतोत्साहित पार्ने कार्य गरेको आरोप लगाइएको छ।
असार २८ गते शनिबार राति र असार ३० गते दिउँसोका घटनाले उदण्डपनको सीमा नाघेको चिकित्सक संघको भनाइ छ। आकस्मिक कक्षको कार्यस्थलमा अनुमतिबिना प्रवेश गरी फोटो तथा भिडियो खिच्ने, चिकित्सकमाथि अनर्गल आरोप लगाउने, अभद्र व्यवहार गर्ने र मानसिक त्रास सिर्जना गर्ने कार्य असह्य भएको संघले बताएको छ। संघले यी कार्यलाई चिकित्सकको चरित्र हत्या र सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको योजनाबद्ध हमला ठहर गर्दै संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।
भविष्यमा यस्ता गतिविधि नदोहोरिनका लागि अस्पतालमा सुरक्षा व्यवस्था कडा पार्न, चिकित्सकलाई सुरक्षित वातावरणमा सेवा दिन पाउने अधिकार सुनिश्चित गर्न र आकस्मिक सेवामा बाधा पुर्याउने कार्यलाई गम्भीर अपराध मानी कारबाही अघि बढाउन पनि संघले माग गरेको छ।



















