Logo

३२ असार, वीरगञ्ज । चर्चित भोजपुरी फिल्म अभिनेत्री अक्षरा सिंहले धोखाधडीसम्बन्धी मुद्दामा मंगलबार बेगूसराय जिल्ला अदालतमा आत्मसमर्पण गरेकी छन्। उनले अदालतमा आवश्यक बन्धपत्र बुझाएपछि नियमित जमानत पाएकी छन् ।

यो मुद्दा २४ अक्टोबर २०२३ मा समस्तीपुर जिल्लाको सिंहिया क्षेत्रमा आयोजित एक सांस्कृतिक कार्यक्रममा घटेको घटनासँग सम्बन्धित छ। कार्यक्रमका आयोजक शिवेश मिश्राले अदालतमा अभिनेत्री सिंहमाथि निर्धारित समयको तुलनामा निकै कम, करिब आधा घण्टा मात्र प्रस्तुति दिएर कार्यक्रम बीचमै माइक तोड्दै छाडेर गएको आरोप लगाएका थिए । उनले यो व्यवहारलाई धोखाधडी भन्दै अभिनेत्री सिंह र उनका पिता विपिन सिंहविरुद्ध आपराधिक मुद्दा दर्ता गराएका थिए ।

यसअघि, अदालतले अभिनेत्री र उनको पिताविरुद्ध समन जारी गर्दै अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो । अक्षरा सिंहले ३० जुनमा नै रु. १०,००० को मुचल्कासहित अग्रिम जमानत लिएकी थिइन् । सोही आदेशको पालना गर्दै मंगलबार उनले अदालतमा आत्मसमर्पण गर्दै बन्धपत्र दाखिल गरेकी हुन् ।

अदालतमा पेशीका क्रममा पत्रकारहरूसँग संवाद गर्न अस्वीकार गरेकी अभिनेत्रीले बारम्बारको प्रश्नपछि मात्र “हर हर महादेव” को जयघोष गर्दै प्रतिक्रिया दिएकी थिइन् ।

उनकी कानूनी प्रतिनिधि सीमा देवीले जानकारी दिँदै भनिन्, “हामीले पहिले नै अग्रिम जमानत लिएका थियौं। आज प्रक्रिया अनुसार आत्मसमर्पण गरी बन्धपत्र दाखिल गरिएको हो, अदालतले नियमित जमानत प्रदान गरेको छ।”

यता, वादी पक्षका अधिवक्ता प्रमोद कुमारले भने, “कार्यक्रमको समयमा दर्शकहरूसँग विश्वासघात भएको छ, त्यसैले कानुनी कारबाही अघि बढाइएको हो।”

अक्षरा सिंहविरुद्ध भारतीय दण्ड संहिताको धारा ४०६ (ग़बन तथा विश्वासघात), ४२७ (सम्पत्तिमा क्षति पुर्‍याउने कार्य), र ३४ (साझा आपराधिक मनसाय) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

पेशीका क्रममा अभिनेत्रीलाई एक झल्को हेर्नकै लागि अदालत परिसरमा प्रशस्त भीड लागेको थियो ।


सम्बन्धित समाचार
भर्खरै