Logo

३२ असार,  वीरगञ्ज । नेपालमा असुरक्षित पूर्वाधार र खुला संरचनाका कारण बालबालिकाले ज्यान गुमाउने क्रम जारी छ । मंगलबार एकै दिन सर्लाही र चितवनमा भएका छुट्टाछुट्टै घटनामा पानी जमेको खाल्डो र अस्पतालको सेफ्टिक ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

सर्लाहीमा सडकको खाल्डोमा डुबेर बालकको मृत्यु :

सर्लाहीको हरिपुर नगरपालिका-१, जानकीनगर टोलमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ६ वर्षीय बालक सुशान्त यादवको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, दिनेश यादवका छोरा सुशान्त मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बेपत्ता भएका थिए। खोजतलासको क्रममा घरबाट करिब पाँच सय मिटर दक्षिणपूर्व रहेको खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवनमा अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर बालिकाको मृत्यु :

यसैगरी, चितवनको भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी ५ वर्षीया छोरी अन्जना मगरको अस्पतालकै सेफ्टिक ट्यांकीमा खसेर मृत्यु भएको छ। असार ३० गते दिउँसो करिब ४ बजेतिर अस्पतालको सी ब्लक नजिकै रहेको ठूलो सेफ्टिक ट्यांकीको ढकनीको भागबाट खेल्दै जाने क्रममा अन्जना खसेकी थिइन् ।

उनको केही बेरपछि नै उद्धार गरी उपचार सुरु गरिएको थियो र उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो। तर, उपचारकै क्रममा मंगलबार साँझ ६:४० बजे बालिकाको निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

यी दुई घटनाले शहरी तथा ग्रामीण दुवै क्षेत्रमा बालबालिकाको सुरक्षामा ध्यान दिनुपर्ने र खुला तथा असुरक्षित संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै