Logo

३२ असार,काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा गम्भीर छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले मन्त्री गुप्ताको राजीनामाले यस विषयको गम्भीरतालाई स्वीकार गरिएको उल्लेख गर्दै तत्काल छानबिन हुनुपर्ने माग गरेका हुन्।

थापाले विवादास्पद अडियोमा संलग्न सबैलाई अविलम्ब छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्। उनले दोषी ठहरिएमा कसैले पनि उन्मुक्ति पाउन नहुने भन्दै “झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू जो कोही“ लाई पनि छानबिन गर्नुपर्ने माग गरेका छन्।

उनले सार्वजनिक अडियोको आवाज सक्कली हो या नक्कली, वास्तविक हो या प्रविधिको कमाल भन्नेबारे राज्यका अनुसन्धान निकायहरूले तत्काल काम थाल्नुपर्ने बताएका छन्। थापाले भनेका छन्, “सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी ‘दूधको दूध, पानीको पानी’ छुट्याउनुपर्छ।”

थापाले एक मन्त्रीको राजीनामा आउँदैमा सम्पूर्ण घटना फासफुस बन्न नहुनेमा जोड दिएका छन्। उनले भने, “विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन÷गर्नका लागि होइन। सुशासनको प्रत्याभूति गर्न हो।”

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा ७८ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मंगलबार राजीनामा दिएका थिए।

 


सम्बन्धित समाचार
भर्खरै