Logo

३२ असार,काठमाडौं । नागढुंगा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डमा हालसम्म ४४ प्रतिशत काम सम्पन्न भएको छ। नागढुंगा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाले दिएको जानकारीअनुसार, दुई वटा प्याकेजमा काम भइरहेको यो ५५ किलोमिटर लामो सडक खण्डमा करिब २७ किलोमिटर सडकमा कालोपत्रे भइसकेको छ।

यस खण्डमा नागढुंगादेखि नौबिसेसम्म १२.२ किलोमिटर र नौबिसेदेखि मलेखुसम्म ४३.५ किलोमिटर सडक समावेश छ। ओझाका अनुसार, यस खण्डमा रहेका १५ वटा पुलमध्ये ८ वटा पुलमा गाडी चल्न सुरु भइसकेका छन्। यसै महिनाको अन्त्यसम्ममा थप दुई वटा पुलमा पनि गाडी सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ। बाँकी पाँच वटा पुल र सम्पूर्ण ५५ किलोमिटर सडक अर्को आर्थिक वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

ओझाले पहिलो प्याकेजको ८४ प्रतिशत काम सम्पन्न भएको र दोस्रो प्याकेजको करिब ४३–४४ प्रतिशत भौतिक काम सकिएको बताए। यस आयोजना अन्तर्गत मुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण हुनेछ। केही खण्डमा भने उकालोतर्फ जाने सवारीका लागि दुई लेन र ओरालोका लागि एक लेन गरी तीन लेनको सडक (क्लाइमिङ लेन) हुनेछ। बजार क्षेत्रमा भने सडक ४ देखि ६ लेन सम्म विस्तार गरिने योजना छ।

गल्छी बैरेनी क्षेत्रमा विगतमा पानी परेपछि हुने खाल्डाखुल्डी र हिलोको समस्या समाधानका लागि युद्धस्तरमा काम गरी धुलो र हिलो मुक्त गरिएको ओझाले जानकारी दिए। उक्त क्षेत्रमा अझै केही काम बाँकी रहे पनि दुई किलोमिटर खण्डमा कंक्रिट पेमेन्ट निर्माण सम्पन्न भइसकेकाले अबको वर्षामा यात्रुले हिलो र हिउँदमा धुलोको समस्या भोग्नु नपर्ने उनको भनाइ छ।

गत वर्षको मनसुनमा सडक खण्डमा भएको सवारी दुर्घटनाले पु¥याएको ठूलो क्षति र विशेषगरी झ्याप्ले खोलामा भएको दुर्घटनामा ३५ जनाको ज्यान गएको घटना स्मरण गर्दै ओझाले उक्त खण्डमा पहिरो रोकथामका लागि माइक्रो पायललिङ, होरिजेन्टल सोयल एन्करेज जस्ता नयाँ प्रविधि प्रयोग गरी काम अघि बढाइएको बताए। दुई साताभित्र उक्त क्षेत्रमा पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसबाहेक महेश खोलाको कटान र परेवा भिर लगायतका स्थानमा पनि पहिरो रोकथामका लागि तीव्र गतिमा काम भइरहेको छ।

 


सम्बन्धित समाचार
भर्खरै