Logo

३२ असार,काठमाडौं । आर्थिक वर्षको अन्त्यसँगै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकामा ठूला स्तरको सरुवा र नियुक्तिको तयारी थालेका छन्। उच्च अदालतका लागि न्यायाधीश नियुक्तिका विषयमा न्याय परिषद्को बैठक आज बस्दैछ।

परिषद्का अनुसार, हाल उच्च अदालतमा २ जना मुख्य न्यायाधीशसहित २६ न्यायाधीश पद रिक्त छन्। हालै श्रीकान्त पौडेल र शान्ति सिंह थापा सर्वोच्च अदालतमा बढुवा भएपछि मुख्य न्यायाधीशको दुई पद खाली भएका हुन्।

नयाँ मुख्य न्यायाधीशमा चार सम्भावित नाम अग्रपंक्तिमा
दुवै पदमा नियुक्तिको तयारी तीव्र बनाइँदै गर्दा दिनेशप्रसाद यादव (महेन्द्रनगर उच्च अदालत) र कृष्णलाल भट्टराई (सुर्खेत उच्च अदालत) अग्रपंक्तिका उम्मेदवारका रूपमा छन्।त्यसैगरी, महिला न्यायाधीशको प्रतिनिधित्व आवश्यक ठानेमा यमुना भट्टराई (हेटौंडा इजलास) पनि सिफारिसको सूचीमा पर्न सक्छिन्।विशेष अदालतमा सक्रिय भूमिका निभाएका न्यायाधीश टेकनारायण कुँवरले कार्यसम्पादनका आधारमा मौका पाउन सक्ने सम्भावना पनि रहेको छ।

२६ अन्य पदमा पनि आजै निर्णयको सम्भावना
परिषद्का एक अधिकारीका अनुसार, बाँकी २६ रिक्त पदमा पनि आजै नियुक्तिको प्रयास भइरहेको छ। यद्यपि, कानुन व्यवसायीहरूको नाममा सहमति नजुटेमा, कर्मचारी वा जिल्ला अदालतका न्यायाधीशहरूको कोटाबाट नियुक्ति गरिने विकल्पमा छलफल भइरहेको छ।न्याय परिषद्का सदस्य दामोदर खड्का चाँडै विदेश जाने तयारीमा रहेकाले छिटो निर्णय लिनुपर्ने बाध्यता पनि देखिएको छ।

सरुवा प्रक्रिया पनि तीव्र, डेढ वर्ष बसेकाहरूलाई प्राथमिकता
न्याय परिषद्का पदाधिकारीबीच कम्तीमा डेढ वर्ष एउटै स्थानमा बसेका उच्च र जिल्ला अदालतका न्यायाधीशहरूलाई सरुवा गर्ने समझदारी भएको छ। यसबाहेक, न्याय सेवा आयोगले पनि अदालत कर्मचारीहरूको ठूलो संख्यामा सरुवा गर्ने तयारी गरिरहेको छ।

न्याय परिषद् र सेवा आयोगमा निर्णयकारी तहका व्यक्ति
न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश राउत स्वयं हुन्। अन्य सदस्यमा कानुन मन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता दामोदर खड्का र महेशकुमार नेपाल छन्।त्यस्तै, न्याय सेवा आयोगमा पनि अध्यक्ष प्रधानन्यायाधीश नै हुन् भने सदस्यहरूमा कानुनमन्त्री चौरसिया, न्यायाधीश मल्ल, लोक सेवा आयोग अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता रमेश बडाल रहेका छन्।

 


सम्बन्धित समाचार
भर्खरै